भैरहवा, असार ३० – डिभिजन वन कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्षमा वन संरक्षण, व्यवस्थापन र सदुपयोगमा ८६ प्रतिशत कार्यगत प्रगति गरेको जनाएको छ। कार्यालय प्रमुख तथा सिनियर डिभिजन वन अधिकृत प्रविण विडारीले वन संरक्षण मात्र नभई निजी वन विकास, सामुदायिक सहभागिता, डढेलो नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन जस्ता क्षेत्रमा समेत सशक्त रूपमा काम भइरहेको बताउनु भयो ।
“हाम्रो कार्यालयले हरेक वर्ष विरुवा उत्पादन गर्दै उपभोक्ता समूह तथा सर्वसाधारणलाई निःशुल्क वितरण गर्दै आएको छ। साथै, सामुदायिक वनहरूसँग मिलेर वृक्षारोपण अभियानलाई तीव्रता दिइएको छ।” उहाँले भन्नु भयो ।
रुपन्देही जिल्लामा कुल क्षेत्रफलको केवल १९.२ प्रतिशत मात्र वन क्षेत्र रहेको छ, जसका कारण वन संरक्षण चुनौतीपूर्ण छ। जिल्लामा ११० वटा सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण भइसकेका छन्, जसले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगमा उल्लेखनीय योगदान दिइरहेका छन्।
मुख्य चुनौतीहरूका रूपमा प्रविण विडारीले वन डढेलो, अतिचराई, अतिक्रमण, र नदीजन्य पदार्थको अवैध उत्खननलाई उल्लेख गर्नुभयो । उनका अनुसार, चुरे क्षेत्रसँग जोडिएको रुपन्देहीको भूगोलका कारण गर्मीयाममा डढेलो नियन्त्रण गर्न थप चुनौती भइरहेको छ। “औजार, दक्ष जनशक्ति र सीपको अभावले गर्दा चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न कठिन भइरहेको छ,” उहाँले बताउनु भयो ।
रुपन्देही जिल्ला अतिक्रमणका घटनामा नेपालको दोस्रो वा तेस्रो स्थानमा पर्ने जिल्ला हो। चुरे क्षेत्रसँग जोडिएका सडक छेउका वनहरू अतिक्रमणको उच्च जोखिममा छन्, जसलाई रोक्न वन कार्यालय स्थानीय प्रशासन, प्रहरी र पालिकासँग सहकार्य गर्दै आएको छ।
जिल्लाका १६ वटा स्थानीय तहहरूमध्ये ७ वटामा वन क्षेत्र नै छैन। ती क्षेत्रहरूमा निजी वन विकासमार्फत वन क्षेत्र विस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ।
भौतिक प्रगति ९५ प्रतिशत पुगेको र सेवाग्राहीहरू सन्तुष्ट देखिन थालेको जानकारी दिँदै अधिकृत विडारीले भन्नुभयो, “जनताको सन्तुष्टि नै हाम्रो प्रेरणा हो, र हामी अझ प्रभावकारी वन प्रशासन र संरक्षणमा लागिरहेका छौं।”