बुटवल, असार ३१ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा थप प्रगति गर्दै म्यामोग्राफी सेवा र विशेष ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्त्री खेबहादुर सारुले सोमबार यस सेवाको उद्घाटन गर्दै जनस्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताए।
यो सेवाले स्तन क्यान्सर जस्ता गम्भीर रोगहरू प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्ने विश्वास गरिएको छ। इटालियन प्रविधियुक्त म्यामोग्राफी मेसिनले कम विकिरण प्रयोग गरी थ्रीडी चित्रमार्फत रोग पहिचान गर्न सक्ने क्षमता राख्दछ।

त्यस्तै, अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ सेवा पनि सुरु गरिएको छ, जसबाट सेवाग्राहीले क्यूआर स्क्यानमार्फत आफ्नो मेडिकल रिपोर्ट आफैं प्रिन्ट गर्न सक्नेछन्।
अस्पताल विकास समितिदेखि स्वास्थ्य मन्त्रालयसम्मको सहकार्यमा सुरु गरिएका यी सेवाले स्तन क्यान्सरको चाँडो पहिचान र समयमै उपचारमा ठूलो प्रभाव पार्ने चिकित्सकहरूको भनाइ छ।
स्वास्थ्य पहुँचलाई अझ सहज र प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएका यी सेवाहरूलाई जनस्वास्थ्यको दृष्टिले महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।