भैरहवा, २ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्तीर्ण १७ जना विद्यार्थीलाई वडा कार्यालयले साइकल वितरण गरेको छ। वडा कार्यालयले स्थायी बासिन्दा ती विद्यार्थीलाई सम्मान स्वरूप साइकल वितरण गरी प्रोत्साहन गरेको हो। कार्यक्रममा स्थानीय नेतृत्व तथा समाजसेवीहरूले यस्तो पहलले विद्यार्थीहरूलाई पढाइमा उत्साह थप्ने र स्वास्थ्यको लागि पनि लाभदायक हुने बताएका छन्।
कार्यक्रममा सहभागीहरूले यस किसिमका गतिविधिले सामाजिक र शैक्षिक विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। भौतिक पूर्वाधार विकाससँगै शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको आत्मबलमा वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न संघसंस्था र अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।
त्यस्तै, आगामी दिनमा उत्कृष्ट विद्यार्थीहरूलाई ल्यापटप वितरण गर्ने योजना रहेको जानकारी दिइएको छ। यसले विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्ने र आधुनिक शिक्षामा पहुँच बढाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूको उज्जवल भविष्यको लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।