भैरहवा, साउन ०६ ।
किसानका खेतहरूमा हरियाली छाउन थालेको छ। लछप्पै फालिएका भन्टा, र पाक्न थालिसकेका खुर्सानीहरूले र्मचावारी गाउँपालिकाका किसानको मिहिनेत र आशालाई झल्काउँछन् । यिनै माटोमा दशकौँदेखि पसिना बगाउँदै आएका किसानको खुसी भने अझै अधुरो थियो— राम्रो सिचाइँको अभाव र अव्यवस्थित बजारीकरणले गर्दा।
असारको सुरुवातसँगै यहाँ धान रोपाइँ सुरु भइसकेको छ। धान खेती सँगै सुरु हुने हो अनिद्रा र चिन्ता— किनभने धानलाई सबैभन्दा धेरै पानी चाहिन्छ। खेतको छेउमै बग्ने डन्डा खोलाबाट पानी ल्याएर खेत सिँच्ने किसानहरूको दिनको श्रम र रातको निद्रा साटिएको हुन्छ।
तर यो वर्ष भने उनीहरूको पीडामा केही राहत आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत, परियोजना कार्यान्वयन इकाइ रुपन्देहीले र्मचावारीमा समुदाय सिचाइँ पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत दुई वटा कुलो निर्माण सम्पन्न गरेको छ।
१२ लाख १० हजार बढी रुपैयाँ लागतमा बनेका ती कुलोहरू र्मचावारीका चार गाउँका कृषकलाई लक्षित छन्। परियोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए अनुसार, अब धान खेतमा पर्याप्त सिचाइँ पुग्ने अपेक्षा गरिएको छ।
र्मचावारी, जुन लुम्बिनी प्रदेशको प्रमुख धान र तरकारी उत्पादन क्षेत्र मानिन्छ, “सुपर जोन (धान)“ अन्तर्गत पर्छ। यहाँका किसानहरू विश्वास गर्छन । “राम्रो सिचाइँ भयो भने हामीले चामल आयात घटाउन सहयोग गर्न सक्छौँ।”
कृषकहरूको लामो समयको प्रतीक्षा, सरकारको लगानी र संयोजन अनि समुदायको सहभागिताबाट निर्माण सम्पन्न भएको कुलोले अब खेतमा मात्र होइन, किसानको अनुहारमा पनि हरियाली ल्याउने विश्वास गरिएको छ।