भैरहवा, १६ साउन । बुटवल–१३ बेलबासका युवा प्रतिभा सुरज सिङ्जाली मगर ‘मेरो डान्स युनिभर्स सिजन २’ मा उत्कृष्ट प्रदर्शन गर्दै टप ८ सम्मको यात्रा तय गर्न सफल भएका छन्। सात हजार प्रतिस्पर्धीलाई पछि पार्दै सुरजले उपाधितर्फको बाटो मजबूतीका साथ अगाडि बढाएका हुन्।
सिजन १ मा टप १३ सम्म पुगेर बाहिरिएका सुरजले हार नमान्दै सिजन २ मा फर्किएर चमत्कारिक नृत्य कौशल देखाउँदै आएका छन्। “यो पटक मैले आफूलाई प्रमाणित गर्ने अवसर पाएको छु,” सुरजले लुम्बिनी चिन्तनसँगको कुराकानीमा भने, “विश्वभरबाट छनोट भएका प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट बनाउने लक्ष्यसहित म यो यात्रामा छु।”
झ्याउरे नाचसमेत समावेश गरिएको यो सिजनको कार्यक्रम नेपालमै पहिलो पटक यस्तो फराकिलो स्तरमा आयोजना गरिएको हो, जसले झनै रौनक थपेको छ।
बिजेता तथा भोट प्रक्रिया
‘मेरो डान्स युनिभर्स सिजन २’ का विजेताले १ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता र तृतीय हुनेले क्रमशः २५ लाख र १० लाख पुरस्कार पाउनेछन्। समूह नृत्य प्रतिस्पर्धामा पनि विजेताले २० लाख, उपविजेताले १० लाख, र तृतीय स्थान हासिल गर्नेले ५ लाख प्राप्त गर्नेछन्।
सुरजले सबै दर्शकलाई आफ्नो यात्रा सफल बनाउन साथ दिन अपिल गरेका छन्। उनलाई भोट गर्नका लागि मोबाइलको Message Box मा गएर MDU [space] 11 टाइप गरी 37000 मा पठाउन सकिन्छ। साथै, MY INTRA App मा गई सुरज सिङ्जाली मगरको प्रोफाइलमा क्लिक गरेर पनि भोट दिन सकिने उनले जानकारी दिए।