भैरहवा, साउन २० । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा अविरल वर्षापछि आएको पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सिद्धबाबा, दोभान, झुम्सा लगायतका ठाउँहरूमा पहिरो खस्दा यातायात ठप्प भएको हो।
लगातार वर्षा भइरहेकाले पहिरो हटाउने कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयको टोलीले पहिरो पन्छाउने प्रयास जारी राखेपनि मौसमले साथ नदिँदा काममा ढिलाइ भइरहेको छ।
सडक अवरुद्ध भएपछि सवारीसाधनहरू बीचमै रोकिएका छन् र यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।
प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएका छन् र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्।
सडक खुलाउने प्रयास भइरहेको भए पनि अवरुद्ध सडक कहिले खुल्ने भन्नेबारे यकिन समय तोकिएको छैन।