भैरहवा, २० साउन । रूपन्देहीको बेलहीयामा रहेको गोर्खा भुपुको सैनिक कल्याणकारी संस्था, सिद्धार्थनगरले २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुवेदार प्रियबहादुर गुरुङ,को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडानं एकका वडाध्यक्ष उज्जवल पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि देवराज न्यौपाने , भारतको एसबिआइ बैंक सुनौलीका शाखा प्रबन्धक विकास कुमार मिश्र, स्टाफ राकेशकुमार गुप्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै शाखा प्रबन्धक मिश्रले पेन्सन लिने पूर्व सैनिक र तिनका परिवारका लागि बैंकबाट उपलब्ध सेवासम्बन्धी जानकारी गराउनुका साथै केही असुविधाका विषयमा पनि स्पष्ट पार्नुभयो।
सो अवसरमा शिक्षा क्षेत्रमा स्नातकोत्तर तहसम्म विशिष्ट श्रेणीमा सफलता प्राप्त गर्ने पूर्व सैनिकका सन्तानहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।