काठमाडौं, २१ साउन । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको विषयगत समितिको बैठकले असोज १ गतेदेखि सबै नयाँ सवारी तथा दर्ता, नामसारी र नवीकरण हुने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको हो।
बैठकले निर्णयअनुसार, सबै प्रदेश सरकारका यातायात व्यवस्था कार्यालयहरू मार्फत सवारी दर्ता प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। यो कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले आवश्यक सहयोग उपलब्ध गराउनेछ भने गृह मन्त्रालयसँग समन्वयमा ट्राफिक प्रहरी परिचालन गरी नियमन प्रभावकारी बनाइनेछ।
त्यसैगरी, बैठकले सवारी चालक अनुमति पत्र वितरण प्रक्रियामा राजश्वमा एकरूपता कायम गर्ने, सवारी सम्बन्धी तथ्यांक डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रिया विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणाली चुस्त र व्यवस्थित बनाउने, बेरुजू फस्र्यौट नियन्त्रण गर्ने, र राइड शेयरिङमा एकरुपता कायम गर्ने लगायतका निर्णय पनि गरेको छ।