काठमाडौं, साउन २२ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ महिला वरीयता सूचीमा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो, जुन हालसम्मकै उत्कृष्ट प्रदर्शन हो।
यसअघि नेपालको सबैभन्दा राम्रो स्थान ९१औं थियो। तर, पछिल्लो प्रदर्शनका आधारमा त्यो रेकर्ड तोड्दै नेपाली टोलीले नयाँ शिखर चुम्न सफल भएको हो। १००औं स्थानमा रहेको नेपालले ४६.४९ अंकको सुधार गर्दै ८७औं स्थानमा स्थान बनाएको हो।
एसियाली मुलुकहरूको सन्दर्भमा नेपाल अब १६औं स्थानमा उक्लिएको छ। हालै सम्पन्न महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले श्रीलंका र लाओसलाई पराजित गर्दै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यिनै सफलताहरूले नेपाललाई वरीयता सूचिमा उच्च स्थानमा पु¥याउन मद्दत गरेका हुन्।
यसैबीच, फिफा महिला वरीयताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकाले दोस्रो स्थानमा चित्त बुझाएको छ।
पुरुषतर्फ भने नेपालको अवस्था स्थिर रहेको छ, जसअनुसार नेपाली पुरुष टोली हाल १७५औं स्थानमा छ।