भैरहवा, साउन २३ । भारतको उत्तराखण्ड राज्यमा आएको विनाशकारी बाढी र पहिरोले १७ भन्दा बढी नेपाली प्रभावित भएको खबरसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो चिन्ता व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तानको भ्रमण सकेर स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत् दुःख व्यक्त गर्दै भनेका छन्, “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको खबरले मलाई चिन्तित बनाएको छ।”
उनका अनुसार घटनापछि प्रभावित नेपालीको उद्धारका लागि भारतीय पक्षसँग दूतावासमार्फत् कूटनीतिक पहल थालिएको छ।
प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
उत्तरकाशी जिल्लाको पहाडी क्षेत्रहरूमा २० साउनमा आएको बाढीले जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दिया मधुवनका ४ जना नेपाली नागरिक बेपत्ता भएको अनुमान छ।