भैरहवा, साउन २३।
नेपालबाट भारत हुँदै विभिन्न खाडी मुलुकहरूतर्फ लैजाइँदै गरिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीको नाममा झुटो प्रलोभनमा पारेर गैरकानुनी रूपमा सीमापार गराइएको अवस्थामा उनीहरूलाई सुनौली नाकाबाट उद्धार गरिएको हो।
उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरेबिया, ओमान, दुबई र रोमानियाजस्ता देशहरूमा लैजान लागिएको खुलेको हो। वैदेशिक रोजगारका लागि आवश्यक ‘एनओसी’ (अनापत्ति प्रमाणपत्र) र श्रम स्वीकृति नभएको पाइएपछि उनीहरू संकास्पद अवस्थामा फेला परेका थिए। कागजात परीक्षणपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भारतीय प्रहरीले ’किन इन्डिया’, शक्ति समूह, शुभअवसर ग्राम नेपाल लगायतका संस्थाको सहयोगमा उनीहरूको उद्धार गरेको हो।
शुभअवसर ग्राम नेपालका परियोजना संयोजक सत्यनारायण यादवका अनुसार, दिल्ली र विभिन्न विमानस्थलबाट ६३ जना नेपाली महिलालाई फर्काउने प्रयास गरिएको थियो, जसमध्ये ४० जना महिलालाई संकास्पद देखिएपछि तत्काल उद्धार गरी स्वदेश फिर्ता गरिएको छ।
उनीहरूलाई झापा, काकडभिट्टा, वीरगञ्ज, बुटवल लगायत नाकाहरू हुँदै भारत पु¥याइएको थियो। उद्धार गरिएका महिलाहरू २२ देखि ४० वर्ष उमेर समूहका छन्। ती महिलाहरू मकवानपुर, दाङ, मोरङ, सुनसरी, नुवाकोट, सिन्धुली, अर्घाखाँची, तनहुँ, धनुषा, बाँके, सल्यान, रौतहट, काभ्रे, धादिङ, कालिकोट, सप्तरी, ताप्लेजुङ, उदयपुर, गोरखा, रुपन्देही, ललितपुर, सोलुखुम्बु, नवलपरासी र कञ्चनपुर जिल्ला निवासी हुन्।
उद्धारपछि उनीहरूलाई आज काठमाडौं लगिएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले थप अनुसन्धानका लागि उनीहरूलाई काठमाडौं रिफर गरेको हो। शनिबार सार्वजनिक बिदाका कारण आवश्यक कानुनी प्रक्रिया आइतबारदेखि अघि बढाइने बताइएको छ।
शुभअवसर ग्राम नेपालले काठमाडौं, कास्की र रुपन्देही जिल्लामा मानव बेचबिखनविरुद्ध महिला र बालबालिका लक्षित परियोजना सञ्चालन गर्दै आएको छ।