भैरहवा, २७ साउन — घरेलु तथा साना उद्योग कार्यालय, रूपन्देहीका निमित्त प्रमुख लोककुमार कार्कीले कार्यालयको सेवाप्रवाहमा केही चुनौती रहेको बताएका छन्। उद्योग दर्ता, नविकरण, वाणिज्य फर्म दर्ता तथा नविकरण, लगत कट्टा जस्ता सेवा दिइरहेको कार्यालयमा हाल प्रदेशस्तरको स्पष्ट कानून तथा निर्देशिका नहुनु, भौतिक संरचना जीर्ण हुनुजस्ता समस्याले कार्यसम्पादनमा कठिनाइ भएको हो।
कार्कीका अनुसार संघीय सरकारका पुराना निर्देशिकाका आधारमा हालसम्म सेवा दिइएको छ। २०७६ सालकै नियमावली टेकेर काम गरिँदै आएको र ‘औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन २०८१’ को नियमावली अझै नआएकाले समस्या भएको उनको भनाइ छ।
कार्यालयमा कैशलेस प्रणाली लागू गरिएको भए पनि बैंकमा सर्वर समस्या भएपछि सेवाग्राहीले असुविधा भोग्नु परेको छ। क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था मिलाउन सके सहज हुने सुझाव पनि दिइएको छ।
कार्यालयको नाममा “वाणिज्य“ शब्द थप्नु पर्ने र पुरानो भवनलाई आधुनिक बनाउनु पर्ने आवश्यकता समेत कार्कीले औँल्याएका छन्। कार्यालयले रूपन्देहीबाट २ करोड १० लाख राजस्व संकलन गरेको छ, जुन लुम्बिनी प्रदेशकै उच्च संकलन हो।
सेवाग्राही रामकृष्ण ज्ञवालीले सेवा सहज भएको प्रतिक्रिया दिएका छन् भने अर्का सेवाग्राही कपिलदेव काफ्लेले नविकरण प्रक्रियामा जानकारी र सहजीकरणको अभाव रहेको गुनासो गरेका छन्।