भैरहवा, १५ साउन — अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रूपन्देहीको आयोजनामा हरेक वर्षझैं यस वर्ष पनि तीज मिलन कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ। संस्थाले आफ्नो सांस्कृतिक परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ सामाजिक सद्भाव र आपसी भाईचारालाई प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम आयोजना गरेको हो।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद भट्टराईका अनुसार तीज पर्वको अवसरमा विशेषगरी दिदीबहिनी, बुवाआमा र दाजुभाइलाई एउटै थलोमा भेला गराई मौलिक गीत–सङ्गीत र नृत्यमार्फत आत्मीयता बढाउने प्रयास गरिएको हो।
“भड्किलो कार्यक्रम नगरी, आफैंले बनाएका गीत गाएर, मादल बजाएर रमाइलो गर्दै संस्कृति झल्काउने प्रयास गरिएको छ,“ अध्यक्ष भट्टराईले भन्नु भयो।
उहाँले आधुनिकताका नाममा भड्किला कार्यक्रमको प्रवृत्तिले मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नयाँ पुस्तालाई संस्कृतिको सही मार्गदर्शन दिन यस्ता कार्यक्रम अत्यन्तै आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा आजीवन सदस्य राधा भट्टराईले तीज पर्व धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा महत्वपूर्ण रहेको बताउँदै यसले महिला भावनालाई अभिव्यक्त गर्ने माध्यमको रूपमा काम गर्ने धारणा राखिन्। “यो हाम्रो परम्परागत सांस्कृतिक अभ्यास हो, जसलाई निरन्तरता दिन आवश्यक छ,“ उहाँले भन्नु भयो ।
कार्यक्रममा सहभागी महिलाहरूले मादल बजाउँदै, तीजका परम्परागत र मौलिक गीतहरू गाउँदै रमाइलो गरेका थिए। यस्तो कार्यक्रमले समुदायमा आपसी सम्बन्ध बलियो बनाउने, पुराना संस्कारलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पनि आफ्नो पहिचानप्रति गर्व महसुस गराउने विश्वास आयोजकहरूको छ।