भैरहवा, ०६ भाद्र । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याव्सन रुपन्देहीले शिक्षा विधेयकविरुद्ध शुक्रबार भैरहवामा व्यापक प्रदर्शन गर्दै सरकारलाई स्पष्ट सन्देश दिएको छ। भैरहवाका निजी क्षेत्रका विद्यालयका १७० सवारी साधन र जिल्लाभरिका पलिका स्तरीय विद्यालयहरु आन्दोलमा सहभागी भएका थिए । ¥याली बुद्धचोकबाट सुरु भई देवकोटाचोक, गल्लामण्डी, एअरपोर्ट बेथरी हुँदै पुनः बुद्धचोकमै समापन गरिएको थियो।प्याव्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलले चरणबद्ध आन्दोलनको सुरुवात भएको जनाउँदै भन्नुभयो, “माग पुरा नहुन्जेल हामी पछाडि हट्दैनौं। निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउन खोजिएको प्रयास स्वीकार्य छैन।“
शिक्षा उपसमितिबाट पारित विधेयकमा पूर्ण छात्रवृत्तिका नाममा विद्यालयहरूले आवास, भोजन, पुस्तकदेखि कापीसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएकोप्रति उनले गम्भीर आपत्ति पनि जनाउनुभयो। “छात्रवृत्ति हामी दिन तयार छौं, तर सरकारले व्यवसायिक हिसाबले हेर्नुपर्ने हो,” उहाँले भन्नुभयो ।
एन प्याव्सनका रुपन्देहीका सचिव अमित यादवले निजी क्षेत्रको लगानी, कर्मचारीको रोजगारी तथा विद्यार्थीको भविष्यप्रति सरकार गम्भीर हुनुपर्ने बताए। प्याब्सन रुपन्देहीका सह–सचिव गोकुल पोख्रेलले पनि विधेयकले निजी विद्यालयहरूलाई गैरनाफामुखी बनाउने प्रयासको विरोध जनाए।