दीपेश पछाई ,
भैरहवा, भदौ ६ । लामो समय देखी भैरहवामा रहेर उधोग ब्यावसायमा संलग्न अग्रवार परिवारका सदस्य स्वर्गीय प्रह्लादकुमार अग्रवालको प्रेरणादायी जीवनीमा आधारित स्मृति ग्रन्थ पुस्तक सार्वजनिक गरीएको छ ।
दुई दशक अघि देहवसान भएका स्वर्गीय प्रह्लादकुमार अग्रवालको व्यक्तित्व, जीवनी, उद्योग–व्यापारका क्षेत्रमा गरेका प्रयास तथा सामाजिक योगदान लगायतका विषयहरु समेटीएर तयार पारीएको ‘सरलताका आदर्श स्वर्गीय प्रह्लादकुमार अग्रवाल’ नामक पुस्तक बिहिवार सार्वजनिक गरएिको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, स्व.अग्रवालका सुपुत्र तथा मुलुककै सफल युवा उद्योगी राजेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका हुन् ।
बिमोचन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी स्व.प्रल्हादकुमार अग्रवालको स्मृति ग्रन्थ व्यवसायीहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।
प्रल्हादकुमार अग्रवाल र उनको परिवार तथा सिंगो व्यवसायी समुदायप्रति प्रदेश सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु मुख्यमन्त्री आर्चायले भने । बुवा र हजुरबुवाले थालनी गरेका कार्यलाई अझ विकसित रुपमा अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने कामना गर्दछु उनले भने ।
भैरहवा औद्योगिक क्षेत्रलाई औद्योगिक केन्द्रका रुपमा स्थापित गर्न अग्रवालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले उनको जीवनपद्धति यथार्थमै सरलताको आदर्श भएको बताए। उनले देशको समृद्धि कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकासमा आधारित हुने स्पष्ट दृष्टिकोण राख्दै राज्य, निजी क्षेत्र र सरोकारवालाको साझा प्रयास आवश्यक हुने उल्लेख गरे ।
कार्यक्रममा ‘सरलताका आदर्श प्रह्लादकुमार अग्रवाल’ पुस्तकको बिमोचन समारोहमा विभिन्न बक्ताले स्व.अग्रवालको बहुपक्षीय योगदानको वारेमा चर्चा गरे ।
अत्यन्तै सरल र सहयोगी भावका भैरहवाका उद्यमी–व्यवसायी प्रह्लादकुमारको २०६१ भदौ ४ गते हृदयघातबाट मृत्यु भएको थियो । उक्त दिन बाल दिवशका अवसरमा आयोजित समारोहमा बोल्दै गरेको अवस्थामा हृदयघात भएको थियो । ५४ वर्षको उमेरमैं प्रह्लादले जीवन गुमाउनु राष्ट्रकै लागि क्षति भएको मुख्यमन्त्री आचार्यले बताए ।
स्व.प्रह्लाद अग्रवाललाई आम भैरहवाबासीले उद्योगीव्यवसायीका साथसाथै मिलनसार, सहयोगीको साथमा दयावान व्यक्तित्वको रुपमा चिन्ने गर्छन् । स्व.अग्रवालले भैरहवा क्षेत्रको शैक्षिक, धार्मिक, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेर ठूलो योगदान पुर्याएका छन् ।
पूर्वगुहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले स्व.अग्रवाल जीवनको छोटो कार्यकालमैं समाजिक क्षेत्रमा समेत महत्वपूर्ण कार्यसम्पादन गर्न सफल व्यक्तित्व भएको बताए । भैरहवाको अग्रवाल घराना परिवारले नेपालको आर्थिक बिकासमा ठूलो योगदान पुर्याएको भन्दै खाँणले स्व. अग्रवालको वारेमा तयार पारिएको उक्त पुस्तक अग्रवाल परिवारका लागि मात्रै नभएर नेपालको सामाजिक र आर्थिक क्षेत्रमा दस्तावेजको रुपमा रहने जनाए । बिमोचित पुस्तक हिजोको भैरहवा र आजको भैरहवाका लागि ईतिहास भएको भन्दै आज भैरहवाका लागि पनि ऐतिहासिक दिन बनेको बताए ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले स्व.अग्रवालले भैरहवा क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा देखाएको योगदान अविष्मरणीय रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले सामाजिक व्यक्तित्व, इमान्दारीता र सहयोगीको अर्को नाम स्व.प्रह्लादकुमार अग्रवाल भएको बताए । स्व.अग्रवालको वारेमा तयार पारिएको उक्त पुस्तक पढेर अनुशरण गर्न उनले सवैलाई आग्रह गरे ।
स्व.आफ्नो वुवाको वारेमा प्रकाश पार्दै छोरा राजेशले बुवाले देखाएको बाटोलाई पछ्याउँदै अघि बढेको बताए । ‘बुवाले समाज र देशप्रति देखाउनु भएको भावनालाई यस पुस्तकमा समेट्ने प्रयाश गरिएको छ’, राजेशले भने, ‘बुवाकै सामाजिक कार्यको स्मरण र देखाउनु भएको पदचापलाई पछ्याउँदै हामी यहाँसम्म आइपुगेका छौं ।’ बुवाको इज्जत र बिश्वासलाई कायम राख्दै आगामी दिनमा आफ्नौ व्यवसायिक तथा समाजिक यात्रा अझ जिम्मेवारी बोधका साथ अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
स्व.वुवा प्रल्हादकुमार अग्रवालले देखाएका मार्गदर्शन, परिवारमा छाडेर गएको स्मृति, सिकाएका समाजप्रतिका उत्तरदायित्वहरुलाई स्मरण गर्दै आज आफ्नो परिवार यहाँसम्म आइपुगेका बताए ।
उनले स्व.वुवाले आफुलाई समेत जानकारी नदिएर गरेको सतर्कमबारे उल्लेख गर्दै नयाँ पुस्ताका लागि पनि प्रकाशित ग्रन्थले मद्दत पुग्ने विश्वास व्यक्त गरे । ९० वर्ष भैरहवामा बसाईसहितको पारिवारिक व्यवसायिक ईतिहासबारे पनि उनले उल्लेख गरे । उनले आफ्नो श्रीमती बेनु अग्रवाल, छोरा सोमेश अग्रवाल, बुहारी श्रद्धा अग्रवाल र अन्तरवार्ताकार रामप्रसाद भट्टराईको सहयोगमा स्व.वुवाको स्मृति ग्रन्थ तयार भएको जनाए ।
स्व.अग्रवालका भाई बृजेशकुमार अग्रवालले दाजु प्रह्लादसँग कुनै पनि कुरामा हुँदैन वा ‘नो’ भन्ने शब्द नै नरहेको र सहयोगको अपेक्षा गरेर आउने जो कोहीलाई पनि खाली हात नफर्काउने गरेको बताए ।
स्व.अग्रवालकी छोराबुहारी बेनु अग्रवालले बुहारीलाई छोरीकै रुपमा मानेर समान व्यवहार गर्ने र समाजप्रतिको आफ्नो दायित्वमा कहिल्यै पछि नहट्ने समर्पित व्यक्तित्व भएको बताइन् ।
धर्मपत्नी स्नेहलता अग्रवाल, अग्रज पत्रकार तथा साथी दिलीप भट्टराई, साथी अर्जुनजंग राणा लगायतले स्व.अग्रवालको व्यक्तित्व लगायतका बिषयमा साथीभाइसँगको अनुभूति समेटिएको छ ।