भैरहवा, १८ भाद्र । सिद्धार्थनगर नगरपालिका र निजी विद्यालयहरूबीच आकस्मिक विदाका सम्बन्धमा गम्भीर छलफल भएको छ। यस सम्बन्धमा विद्यालय सञ्चालनमा समस्या र विद्यार्थीहरूको भविष्यमाथि नकारात्मक प्रभाव परेको भन्दै निजी विद्यालयहरूले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।
उक्त छलफलको आधारमा, नगरपालिकाले विद्यालयहरूलाई आवश्यक परेमा, विद्यालयको समन्वय र सहमति अनुसार विदा दिने निर्णय गरेको छ ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले ध्यानाकर्षण पत्र पढ्दै भन्नुभयो, “हामी निजी विद्यालय सञ्चालकहरूले आफ्नो जायजेथा बैंकमा धितो राखेर विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ। र कुनै पनि आकस्मिक विदाका निर्णयले हाम्रो कार्यशैली र विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर परेको छ। यसैले, नगरपालिका र निजी विद्यालयहरूले परामर्श र सहमति बिना कुनै पनि अवकाश घोषणा नहुने व्यवस्था मिलाइदिनुपर्ने हाम्रो माग छ।“
यसैगरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले “हामी हाम्रा विद्यालयहरूलाई विद्यालयको समन्वय र सहमति अनुसार मात्रै विदा दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछौं। यसले गर्दा आवश्यक परेमा मात्रै र विद्यालयको सहमति अनुसार मात्रै विदा दिन सकिने व्यवस्था सुनिश्चित हुनेछ।“
यसै क्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पनि निजी विद्यालयको मागलाई स्वागतयोग्य भएको बताएका छन्।
यसरी हरेक विषयमा विदा नदिने हो भने हाम्रो कार्यशैलीमा बार्धा स्थिरता मिल्ने र विद्यार्थीको निरन्तर अध्ययनमा कुनै अवरोध नआउने निजि विद्यालयका सञ्चाललकहरुले विश्वास व्यक्त गर्नुभयो ।
यस सम्बन्धमा थप निर्णय र कार्यान्वयन प्रक्रिया जारी रहेको छ । विद्यार्थीको भविष्य र शिक्षाको गुणस्तरलाई ध्यानमा राखेर निष्पक्ष रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गरिएको छ।