काठमाडौं, भाद्र १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको हालैको बैठकले यस्तो निर्णय लिएको हो। मन्त्रालयले स्पष्ट पारेको छ कि दर्ता नभएका सामाजिक सञ्जालहरूलाई पहिले निष्क्रिय बनाइनेछ, र जब ती सूचीकरण प्रक्रियामा आउनेछन्, त्यसपछि मात्र पुनः सञ्चालनमा ल्याइनेछ।
वर्तमानमा भाइबर, टिकटक, विटक, निम्बज जस्ता केही सामाजिक सञ्जालहरू नेपालमा आधिकारिक रूपमा सूचीकरण भइसकेका छन्। टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् भने फेसबुक, ट्वीटर (एक्स), वाट्सएप जस्ता ठूला सामाजिक सञ्जालहरू अझैसम्म सूचीकरण प्रक्रियामा प्रवेश गरिसकेका छैनन्।
मन्त्रालयले ती कम्पनीहरूलाई यसअघि नै औपचारिक रूपमा इमेलमार्फत सम्पर्क गरी नेपालमा सञ्चालन गर्न आवश्यक सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरिसकेको छ।