काठमाडौं, २४ भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश सार्वजनिक गर्दै, शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमन र निर्दोष बालबालिकामाथि हिंसाको घटनाप्रति गहिरो आक्रोश प्रकट गरेका छन्।
अधिकारीले हालै जेनजीले आयोजना गरेको प्रदर्शनमा सरकारद्वारा अपनाइएको दमनकारी शैलीको कडा आलोचना गरेका छन्। उनका अनुसार यस्तो अमानवीय व्यवहार लोकतान्त्रिक मूल्यविपरीत हो र आफैंले आत्मसात गरेको राजनीतिक आचरण र दलको शिक्षासँग मेल खाँदैन।
उनले भनेका छन्, “देश निर्माण गर्नुपर्ने पुस्तामाथि युद्धसरह व्यवहार गरिएको छ। यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि असह्य भयो।“
आफ्नो अन्तर्मनको आवाजले यस्तो शासनप्रणालीको भागीदार बन्न नदिएको स्पष्ट पार्दै, उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।
अधिकारीले लोकतन्त्रमा प्रश्न सोध्न र शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको अधिकार हो भन्ने कुरा दोहो¥याउँदै भनेका छन्, “त्यसको सट्टा व्यापक दमन र हत्या हुनु गम्भीर चिन्ताको विषय हो।“
उनको यो निर्णयसँगै सरकारको वर्तमान शैलीमाथि थप प्रश्न उठ्ने देखिएको छ।