काठमाडौं, २४ भाद्र । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा ढुवानी यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।
भदौ २३ गते ‘जेन जिन’ समूहद्वारा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा सरकारी दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएकोप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ। उक्त घटनापछि देशभरको जनजीवन प्रभावित भएको र काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएकाले अहिलेको अवस्था यातायात सञ्चालनका लागि उपयुक्त नरहेको महासंघको भनाइ छ।
महासंघले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, घाइतेहरूको उपचारका लागि नेपाल सरकारलाई आवश्यक व्यवस्था मिलाउन माग गर्दै सबै सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरुलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ।
यस्तो अप्ठ्यारो परिस्थितिमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म सार्वजनिक यातायात तथा मालवाहक सेवा सञ्चालन नगर्न महासंघले स्पष्ट पारेको छ। महासंघले सबै सम्बन्धित पक्षलाई सेवा बन्दको निर्णयमा सहयोग गर्न आग्रह गरेको छ।