काठमाडौं, २६ भाद्र ।
देशभर चलिरहेको जेनजी आन्दोलनमा सहभागीहरूमाथि प्रहरीले गरेको बल प्रयोगका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार, विभिन्न अस्पतालमा उपचाररतमध्ये ३२१ जना अझै अस्पतालमा छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म आन्दोलनसँग सम्बन्धित १,३६८ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
मृतकहरूको अस्पताल अनुसार विवरण
सिभिल अस्पताल, काठमाडौंः ६ जना
राष्ट्रिय ट्रमा सेन्टरः ८ जना
भेरी अस्पतालः ५ जना
एभरेष्ट र फ्रन्टलाइन अस्पतालः ३–३ जना
केएमसी र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः २–२ जना
त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पताल, बयोधा अस्पतालः १–१ जना
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले सुरक्षावाहिनीको घेरा तोडेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच कडा झडप भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरीले भीड नियन्त्रणका लागि अन्धाधुन्ध गोली प्रहार गरेको थियो।
घाइतेहरूलाई सहकर्मी तथा स्थानीयवासीहरूले तत्काल नजिकका अस्पतालहरूमा पु¥याएका थिए। कतिपयको बाटैमा, भने कतिपयको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ।
जेनजी (जेन–जि पुस्ताले सामाजिक सञ्जालमाथिको बन्देज, शासकीय निष्क्रियता र अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध देशव्यापी प्रदर्शन गर्दै आएका छन्। आन्दोलन अझै थामिएको छैन भने मानव अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।