भैरहवा, २७ भाद्र । रुपन्देही जिल्लामा प्रदर्शन, जुलुस, हुडदंगा र झडप हुन सक्ने आशंकालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थायी प्रशासन ऐन, २०७४ को दफा ६ को उपदफा ९(३) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भदौ २७ गतेदेखि अर्को आदेश नआएसम्म लागू हुने गरी आदेश जारी गरेका हुन्।
जारी आदेशअनुसार राति ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लागू हुनेछ। यस समयमा व्यक्तिहरूलाई घरबाहिर निस्कन, यात्रा गर्न वा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न पूर्णरूपमा निषेध गरिएको छ।
त्यसैगरी, बिहान ६ बजेदेखि राति ९ बजेसम्मको अवधिमा पाँच जनाभन्दा बढीको जमघट, सभा, जुलुस, प्रदर्शन, धार्मिक वा कोणसभामूलक कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको निषेधाज्ञा जारी गरिएको छ।
प्रशासनले सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
