Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

वर्षासँगै भैरहवा जलमग्न


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८२ मंगलवार
  • 332
    SHARES

वर्षासँगै भैरहवा जलमग्न

भैरहवा, ३१ भाद्र । सोमबार बिहान परेको अविरल वर्षाले भैरहवाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। विशेषगरी गल्लामण्डी, बैंकरोड, वडा नं. ३ र वडा नं. ६ का धेरै स्थानहरू डुबानमा परेका छन्।

स्थानीयवासीका अनुसार सोमबार बिहानैदेखि सुरु भएको वर्षाले केही घण्टामै सडक तथा गल्लीहरूमा पानी थुप्रिन थालेको थियो। मैत्रीपथ लगायतका प्रमुख बजार क्षेत्रसमेत डुबानमा परेका छन्। उचित पानी निकासको अभाव र कुलो तथा ढल प्रणाली अवरुद्ध हुँदा घर तथा पसलभित्रसमेत पानी पसेको छ।

डुबानका कारण धेरै स्थानहरू हिलाम्य बन्न पुगेका छन् भने स्थानीयहरूलाई आवागमनमा समेत कठिनाइ भएको छ।
समाजसेवी आनन्द गुप्ताले स्थानीय निकायले समस्या समाधानप्रति कुनै चासो नदेखाएको बताउनुभयो । “एडिबीको लगानीमा बनाइएको ढल, कुलो तथा सडकहरू समेत अव्यवस्थित छन्। यी संरचनाले समस्या समाधान गर्नुको साटो उल्टै थप समस्या सिर्जना गरिरहेका छन्।”

गल्लामण्डी क्षेत्रका एक स्थानीय युवाले भने, “वर्खाले गर्दा कुलोबाट पानी ओभरफ्लो भएर घरघरमा पसेको छ। पश्चिमाञ्चल क्षेत्रदेखि बैंक कलोनीसम्मको ठूलो भाग डुबानमा परेको छ।” उनका अनुसार केही घरभित्र लत्ता–कपडासहित सबै सामान पानीमा डुबेका छन्।

त्यसैगरी अर्की स्थानीयवासी सिता बस्नेतले नालाको उचित व्यवस्थापन नहुँदा आफ्नो घरको चुलो समेत बल्न नसकेको बताइन्। “घरभित्रै पानी छ। अब खाना बनाउने ठाउँ पनि छैन,” उनले दुःख व्यक्त गरिन्।

स्थानीयवासीहरूले डुबानको मुख्य कारण अव्यवस्थित ढल निकास प्रणाली, प्लास्टिकजन्य फोहोरको थुप्रो र अनियोजित शहरीकरण भएको बताएका छन्। जलवायु परिवर्तनको असरले समस्या झन गम्भीर बनाएको उनीहरूको भनाइ छ।


लुम्बिनी चिन्तन

थप समाचार