भैरहवा, ३० भाद्र । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथस्थित ‘गार्डेन अफ ड्रिङ्स’ (जीओडी) रेष्टुरेन्टमा गए राति चोरी भएको छ। जिल्ला प्रशासन कार्यालय नजिकै रहेको उक्त रेष्टुरेन्टमा राति करिब १२ः२० बजे एक जना व्यक्ति प्रवेश गरी काउन्टर तोडेर करिब १ लाख रुपैयाँ नगद चोरी गरेको सिसिटिभी फुटेजबाट खुलेको सञ्चालक रमेश कान्दुले जानकारी दिनुभयो।
सञ्चालकका अनुसार करिब ४० वर्षको देखिने ती व्यक्तिले रेष्टुरेन्टको मुख्य गेटको ताला फोडेर प्रवेश गरेका थिए। बिहान ९ बजे कर्मचारीहरू आएपछि मात्र चोरी भएको थाहा भएको थियो।
घटनापछि ताला फेरि गेटमा झुण्ड्याइएको अवस्थामा भेटिएको बताइएको छ।
घटनापछि सुरक्षा व्यवस्थाप्रति व्यवसायीहरू चिन्तित देखिएका छन्। उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्स) का अध्यक्ष सचिन रोक्काले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त व्यक्तीको पहिचान जो कोहीलाई भए प्रसाशनमा खबर गर्न आग्रह गर्नभयो ।
यस्तै, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष रामप्रसाद पोखरेलले पछिल्ला दिनमा मुलुकभरि घटिरहेका अप्रिय घटनाक्रमका बीच प्रशासन खुकुलो देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। “प्रशासन कमजोर हुँदा अपराधीहरू मौकामा खेलिरहेका छन्, अब सबै सतर्क बन्नुपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो। उहाँले व्यवसायीहरूलाई ‘आफ्नो सुरक्षा आफैँ गर्ने’ चेतना विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो।
२०७८ मंसिरदेखि सञ्चालनमा आएको उक्त रेष्टुरेन्टमा हाल १४ जना कर्मचारी कार्यरत छन्।