भैरहवा, ०५ असोज । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व भैरव अर्यालको ९० औँ जन्मजयन्ती भैरहवामा एक विशेष समारोहका साथ सम्पन्न भएको छ। सिद्धार्थ साहित्य परिषद्, रूपन्देहीको आयोजनामा असोज ४ गते शनिवार सिद्धार्थनगर–९, मिस्रौलियास्थित विश्वप्रेम काफ्ले स्मृति साहित्य सदनमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्य विशेष प्रस्तुति दिइएको थियो।
२९७ औँ सिद्धार्थ साहित्य सङ्गमको अवसर पारेर गरिएको उक्त कार्यक्रममा परिषद्का अध्यक्ष तथा समालोचक डिल्लीराज भट्टराईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि साहित्यकार रमेश समर्थन रहनुभएको थियो। कार्यक्रममा सहभागी रचनाकारहरूले आफ्ना विविध हास्यव्यङ्ग्य रचनाहरू प्रस्तुत गरेका थिए।
उक्त अवसरमा प्रस्तुत कवि उमेश रिजालको कविता कार्यक्रमकै उत्कृष्ट रचना घोषित गरिएको थियो। परिषद्का सदस्य देवी न्यौपाने ‘धीर’ ले स्वागत मन्तव्य दिएका थिए भने सचिव लक्ष्मीप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा बोल्दै साहित्यकार वनमाली निराकारले, “हास्यव्यङ्ग्य रचना भनेको साहित्यको अचार हो, जसले साहित्यप्रति रुचि बढाउने काम गर्छ,” भन्दै हास्य र व्यङ्ग्यबीचको सन्तुलन आवश्यक हुने धारणा व्यक्त गर्नुभयो।
भैरव अर्यालको जीवन र साहित्यिक योगदानमाथि परिषद्का सहसचिव कृष्णप्रसाद बस्यालले प्रकाश पारेका थिए। उहाँले केवल ४० वर्षको जीवन यात्रा हुँदै पनि अर्यालले नेपाली साहित्यमा हास्यव्यङ्ग्यको धरातललाई नयाँ उचाइ दिएको स्मरण गर्नुभयो।
कार्यक्रममा रमेश समर्थन, वनमाली निराकार, रुद्र ज्ञवाली, उमेशचन्द्र रिजाल, देवी न्यौपाने ‘धीर’, लक्ष्मीप्रसाद अधिकारी, सीता काफ्ले, तिलक लामिछाने, कमल पोखरेल ‘निश्चल’, सिर्जना खनाल, मङ्गल खनाल, केशव ज्ञवाली, ध्रुव ज्ञवालीसहित झन्डै दुई दर्जन साहित्यकार तथा सिर्जनशील व्यक्तिहरूको उपस्थिति रहेको थियो।
भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको थियो भने उहाँको देहावसान वि.सं. २०३३ मा काठमाडौंको गोकर्णमा भएको थियो। छोटो जीवन भए पनि उहाँले नेपाली हास्यव्यङ्ग्य साहित्यमा दिएको योगदान अविस्मरणीय छ।