भैरहवा, ०६ असोज । आजदेखि घटस्थापनासँगै नेपालीहरूको महान चाड बडादशैंको शुभारम्भ भएको छ । देशैभरका मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको भीड देखिएको छ भने घर–घरमा वैदिक विधिअनुसार घटस्थापना गरी देवी दुर्गाको आवाहन गरिएको छ।
दशैंको पहिलो दिन घटस्थापनालाई विशेष धार्मिक र सांस्कृतिक महत्वका साथ मनाउने गरिन्छ। यस दिन माटोको भाँडोमा जौं, गहुँ र मकै छरेर जमरा राख्ने परम्परा रहेको छ।
केवल हरियो अन्नको टुसा मात्र नभई, जमरालाई विजय, समृद्धि र नयाँ सुरुवातको प्रतीकका रूपमा लिने गरिन्छ।
दसौँ दिन देवीको प्रसादस्वरूप टीका ग्रहण गर्दा जमरा टाउकोमा राख्ने परम्परा छ, जसले देवी दुर्गाको आशीर्वाद प्राप्त हुने जनविश्वास रहँदै आएको छ। घटस्थापनासँगै शक्तिकी देवी दुर्गाको उपस्थितिको आभास हुने मान्यता समेत रहेको छ।
नौ दिनसम्म नवदुर्गाको आराधना गरिन्छ भने दशौँ दिन महिषासुरमाथि देवीले गरेको विजयको स्मरण गर्दै विजयादशमी मनाइन्छ। यस पर्वले सत्य र धर्मको असत्यमाथि विजय हुन्छ भन्ने गहिरो सन्देश दिन्छ।
बडादशैं धार्मिक पर्व मात्र नभई सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको चाड हो। यसले परिवारजन र आफन्तबीच भेटघाट गर्ने अवसर प्रदान गर्ने, पारिवारिक सम्बन्धलाई बलियो बनाउने र समाजमा एकताको सन्देश फैलाउने काम गर्दछ। दशैंको मेलापात, रमझम र आत्मीय जमघट यस पर्वका विशेष पक्षहरू हुन्। देश विदेशमा रहेका नेपालीहरू दशैंलाई उल्लासपूर्वक मनाउँदै आएका छन्।
यसै अवसरमा भैरहवास्थित दुर्गा मन्दिरका पुजारीले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई बडादशैंको शुभकामना दिनुभएको छ। उता कालिका मन्दिरका पुजारीज्यूले भने बडादशैंको सुरुवात र मान्यता सम्बन्धमा जानकारी दिँदै हिन्दू धर्मावलम्बीहरूमा दुई फरक परम्परा प्रचलित रहेको बताउनुभयो।
“कसैले यस पर्वलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको उत्सवका रूपमा विजयादशमी मनाउने चलन छ भने, कसैले रामले रावणमाथि विजय प्राप्त गरेको सम्झनामा राम नवमी वा विजयादशमीको रूपमा मनाउने गरेका छन्,” पुजारीले बताउनुभयो।
यसरी घटस्थापनाबाट सुरु हुने १५ दिन लामो महान चाड दशैं, देवी दुर्गाको आराधनासहित सत्य र न्यायको विजय, धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइन्छ।
यो पर्वले नेपाली समाजलाई नयाँ ऊर्जा, शक्ति र आशाको सन्देश दिँदै आएको छ।