काठमाडौं, १२ असोज । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतबार बिहान भएको गम्भीर सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गतको उक्त स्थानमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको हो।
मृत्यु हुनेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ का २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी, र २७ वर्षीय शशीधर केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पबी केसीको नागरिकता प्रमाणपत्रको आधारमा र शशीधर केसीको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेका हुन्।
उक्त गाडी बाफिकोटबाट दाङको घोराहीतर्फ जाँदै गर्दा बिहान करिब ४ बजे दुर्घटना भएको बताइएको छ। दुर्घटनामा बाफिकोट–५ कै ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि दुबै जनालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।
प्रहरीका अनुसार राति १० बजे गाडीले कपुरकोट प्रहरी चौकीमा इन्ट्री गरेको विवरण छ। गाडीमा ३ पुरुष र २ महिला गरी जम्मा ५ जना यात्रु सवार थिए।
दुर्घटनापछि उद्धार कार्यका लागि प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल बहादुर वलीको नेतृत्वमा ट्राफिक सहित ७ जनाको टोली परिचालित गरिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङको कमाण्डमा थप ९ जनाको टोली घटनास्थलतर्फ पठाइएको थियो।
दुर्घटनास्थल कपुरकोट प्रहरी चौकीबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ भने लुहाम प्रहरी कार्यालयबाट करिब २६ किलोमिटर पूर्वमा अवस्थित छ।