भैरहवा, १३ असोज । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित ‘दशैं सस्तो बजार–२०८२’ ले करिब ३५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। असोज ८ देखि १२ गतेसम्म पाँच दिन सञ्चालन भएको यो बजारमा १० हजारभन्दा बढी उपभोक्ताको उपस्थिति देखिएको छ।
संघका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार, प्रारम्भिक अनुमानमा बजारमा ५०–६० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको भए पनि ३५ लाखको कारोबार हुनु पनि उत्साहजनक उपलब्धि हो। बजार सिद्धार्थनगर नगरपालिका–१२ स्थित कालिकापथमा रहेको संघको भवन परिसरमा सञ्चालन गरिएको थियो।
बजारमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, घरेलु सामग्री लगायतका वस्तु बिक्री गर्ने १९ वटा स्टल राखिएका थिए। अध्यक्ष आचार्यका अनुसार, मुस्ताङको स्याउदेखि स्थानीयस्तरमा उत्पादित वस्तुहरुसमेत उपभोक्ताले बजारबाट खरिद गरेका छन्।
“उद्योगी, व्यवसायी, आम उपभोक्ता र सञ्चारकर्मीहरूको सहयोगले यो बजारलाई सफल बनाउन सकिएको हो,“ अध्यक्ष आचार्यले भन्नुभयो, “उपभोक्ताले यस वर्षको सस्तो बजार विगतको भन्दा अझ सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन्।“
संघले सस्तो बजारमार्फत स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन, उपभोक्तामा मूल्यबारे सचेतना र सस्तो दरमा गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्य राखेको छ। स्टलहरू निःशुल्क प्रदान गरिएको थियो।
यसअघि संघले सन् २०५८, २०५९, २०७९ र २०८० सालमा पनि दशैं बजार सफलतापूर्वक सञ्चालन गरिसकेको छ।
संघका महासचिव कृष्णप्रसाद घिमिरेले बजारमा उपभोक्ताको उल्लेखनीय भिड देखिएको जानकारी दिनुभयो। यस्तै, सिद्धार्थनगर–१, बेलहियाका सुरेन्द्र क्षेत्रीले सीमावर्ती भारतीय बजारको सट्टा स्वदेशी बजारलाई रोज्दै सामान खरिद गरेको बताउँदै स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए।
संघले आगामी दिनमा पनि यस्ता मेला, महोत्सव तथा सस्तो बजार कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।