भैरहवा मंसिर १/
भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सकारात्मक प्रतिबद्धता जनाएका छन् ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा सविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटमा भैरहवा तथा सिद्धार्थनगर क्षेत्रमा ओभरहेड विद्युत लाइनहरूलाई भूमिगत गर्ने विषयमा विस्तृत छलफल भएको सिद्धार्थनगर नगरपालीकाका प्रेस सल्लाहकार श्याम संकर पाण्डेयले जानकारी दिनु भएको छ । मन्त्री घिसिङले भुमिगत बनाउने योजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै चाँडै नै आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।
नगर प्रमुख खानले भैरहवाको कोर सिटी क्षेत्रका मुख्य सडकहरू बैकरोड, गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत केबल बिछ्याउने योजनाका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गर्नुभएको थियो । सो अबसरमा मन्त्री घिसिङले भैरहवाको तीव्र शहरीकरण र बढ्दो ऊर्जा मागलाई ध्यानमा राख्दै भूमिगत प्रणाली निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको थियो । यो योजनाले विद्युतीय दुर्घटना न्यूनीकरण, शहरको सौन्दर्य वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिने छ । हामी छिट्टै प्राविधिक टोली पठाएर कार्यान्वयनको तयारी थाल्छौं मन्त्री घिसीड.ले भन्नु भयो ।
भेटमा नगर प्रमुख खानले सिद्धार्थनगर नेपाल–भारत सीमाको व्यस्त व्यापारिक केन्द्र रहेको र ओभरहेड तारहरूले बारम्बार हुने दुर्घटना र सौन्दर्यह्रासले नगरको विकासमा बाधा पुर्याइरहेको बताउनु भयो ।