काठमाडौं : शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले बिक्रेता र उपभोक्तालाई 'आफूसँग भएका खालि सिलिन्डर यथाशिघ्र भरी भण्डारण गर्न' आह्वान गर्दै एक राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना जारी गरेको छ । नेपाल आयल निगमले आफूहरूलाई ग्यासको उपलब्धता सहज पार्न पत्राचार गरेको संघको सूचनामा उल्लेख छ ।
कोभिड-१९ महामारीको दोस्रो लहर फैलिरहेको सन्दर्भमा ग्यास अभावको हल्ला चलाएर ग्यासको माग बढाउन खोजिएको छ । उद्योगीले सूचनामा ग्यासको अभाव सुरू भएको जिकिर छैन । आयल निगमले ग्यासको उपलब्धता सहज पार्ने निर्देशन दिएकै विषयलाई मात्रै आधार बनाएर बिक्रेता र उपभोक्तालाई ग्यास भण्डारण राख्न आह्वान गरिएको छ ।
उपभोक्तालाई ग्यासको भण्डारण गर्न आह्वान गर्दै उत्पादकको बजारमा अभाव सिर्जना हुनेगरी ग्यासको माग बढाउन प्रचारबाजी गर्नु गलत भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाइले बताए । उनले भने, 'सरकारले जनतालाई सकेसम्म लकडाउन नगर्ने गरि सचेत हुन आग्रह गरिरहेको समयमा उद्योगीले जान्ने भएर यस्तो सूचना जारी गर्नु गलत छ । वाणिज्य विभाग अभाव हुन नदिने पक्षमा छ ।'
खाना पकाउने ग्यासको मौज्दात पर्याप्त रहेकाले उपभोक्ताले स्टक नै राख्नुपर्ने अवस्था नरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । 'हामीले भारतमा कोरोनाको महामारी बढिरहेको अवस्थामा उद्योगीहरूलाई आफ्नो भण्डारण बढाएर राख्नु मात्रै भनेका हौं,' उनले भने, 'उपभोक्ताले अतिरिक्त भण्डारण बढाउनुपर्ने अवस्था छैन ।'
उनका अनुसार दैनिक १०० बुलेट खाना पकाउने ग्यास आइरहेको छ । उद्योगसँग भएको ८००० मेट्रिक टन भण्डारण राख्न अनुरोध गरिएको उनले बताए । उपाध्यायका अनुसार मासिक ४७/४८ हजार मेट्रिक टन खाना पकाउने ग्यास आयात भइरहेको छ, यो अहिलेसम्मकै बढी आयात हो ।