काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । एक घण्टा ढिलो सुरु भएकाे वैठक लकडाउन वा निषेधाज्ञा गर्नेे निर्णय स्थानीय प्रशासनलाई दिने गरी निर्देशन गरेकाे हाे। आजको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित रहेकाे थियो ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको एक मन्त्रीले बताए । त्यसतै सीसीएमसीको सिफारिस अनुसार सबै विद्यालय बन्द गर्ने, अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय भएकाे छ ।
एक मन्त्रीका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ । साथै सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ । त्यस्तै बैठकले नेपाल हुँदै तेस्रो मुलुक जाने विदेशी नागरिकलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । यो निर्णयबाट भारतीय नागरिकहरुले अब नेपालको बाटो हुँदै विदेश जान नपाउने भएका छन् । स्थलमार्गबाट समेत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।