भैरहवा । जोरबिजोर प्रणाली उल्लंघन गरेको सवारी चालकलाई रुपन्देही प्रहरीले कारवाही गरेको छ ।
रुपन्देहीमा मंगलबारदेखि लागु भएको जोर विजोर प्रणली उल्लंघन गर्दै सवारी चलाउने ६०० बढी सवारी साधन र त्यसको चालकलाई कारवाही गरिएका हो ।
प्रहरीले स्थानीय प्रशासनको जोरबिजोर सवारी चलाउने निर्णयको अनुगमन गर्न जिल्लाका बिभिन्न स्थानहरुमा सवारी जाँच गरेको थियो । जिल्लाको मिलनचौक, बेथरी, अञ्चलपुर, वाईपास, बसन्तपुर लगायतका स्थानमा प्रहरीले गरेको सवारी चेकजाँचमा मोटर साईकल ३५०, निजी सवारी साधन १५१ र सार्वजानिक सवारी सधन १९१ वटा कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
प्रहरीले पहिलो दिन भएकाले केहि समय नियन्त्रणमा लिई अव आईन्दा नियम उल्लंघन नगर्ने सर्तमा ती सवारी साधनलाई छाडिदिएको छ । चेकजाँचलाई निरन्तरता दिईने र अवका दिनहरुमा भने आर्थिक जरिवाना देखि संक्रामक रोग ऐन अनुसार पक्राउ गरिने डीएसपी थापाले भने । स्थानीय प्रशासनले तत्कालका लागि जोर बिजोर प्रणाली लागु गरेपनि १६ गतेबाट पूर्णरुपमा लकडाउनको तयारी गरेको छ ।
आज बुधबार पनि यो जोर विजोर प्रणली लागु छ, भोली देखि १५ दिनका लागि लकडाउन भएकोले आज मात्रै आवश्यक सामाग्रीको व्यवास्थापन गर्ने समय आम नागरिकमा छ । जिल्ला प्रशासन कार्र्यालयले भोली देखि हुने लकडाउन कडाईका साथ लागु गर्न प्रशासनलाई निर्देशन दिएको छ । लकडाउनको अवज्ञागर्नेलाई एक महिना सम्म कैद गरिने समेत प्रशासनले व्यवस्था गरेको छ ।