भैरहवा । रुपन्देहीमा कोरोना भाइरस संक्रमणको रेकर्ड सधै ब्रेक हुदै गएको छ । भारतमा दिनानुदिन लाखौँको संख्यामा देखिएको संक्रमण नेपालमा पनि प्रवेश गरिसकेको छ । समुदाय स्तरमा फैलिसकेको संक्रमणले अहिले सधै रेकर्ड ब्रेक गर्दै गएको छ । रुपन्देहीमा दैनिक बढ्दो कोरोना भाइरस संक्रमणले जिल्ला नै ‘हटस्पट’ बन्न थालेको छ ।
आइतबार २०४ जनामा संक्रमण देखिएकोमा सोमबार नयाँ रेकर्ड २६३ देखियो । मंगलबार ४१९ जनामा संक्रमण देखिएको छ जुन अहिले सम्मकै सबै भन्दा उच्च हो । रुपन्देहीमा पछिल्लो पाँच दिनमा मात्र १४ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६४० जनाको कोभिड परीक्षण गर्दा ४१९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लामा गाउँ क्षेत्रभन्दा शहरी क्षेत्रमा संक्रमणको ग्राफ बढ्दो अवस्थामा छ । रुपन्देहीको शहरी क्षेत्र बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका (भैरहवा) र तिलोत्तमा नगरपालिकामा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा मात्रै २१३ जना संक्रमित थपिएका छन ।
यस्तै सिद्धार्थनगर नगरपालिमामा ४३, तिलोत्तमा नगरपालिकामा १०८, सियारी गाउँपालिकामा २, देवदह नगरपालिकामा १४, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १÷१ जना, सनामैना नगरपालिकामा १६, आमसतिया गाउँपालिकामा २, कञ्जन गाउँपालिकामा ४, शुद्धोधन गाउँपालिकामा ७, सम्मरीमाई गाउँपालिकामा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ११ हजार २३१ जनामा संक्रमण देखिएको छ । जसमध्ये ८२ प्रतिशत अर्थात ९ हजार १८२ जना निको भएका छन् भने हाल १ हजार ८८७ जना संक्रिय संक्रमितहरु रहेका छन् ।