भैरहवा । शुक्रबार रुपन्देहीमा ४५९ जना कोभिड–१९ संक्रमीत थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय १७ पुगेको छ । दोस्रो लहरको संक्रमण समुदाय स्तरमा फैलिएसँगै हाल सम्मकै बढि ४५९ जना संक्रमित आज थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । शुक्रबार साझ ६ बजे सम्म रुपन्देहीका एक पालिका बाहेक सबै स्थानीय तह क्षेत्रमा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार सबै भन्दा बढि बुटवल उपमहानगरपालिका २१६, सिद्धार्थनगर नगरपालिकामा ७३, तिलोत्तमा नगरपालिकामा ८७, देवदह नगरपालिकामा २०, सैनामैना नगरपालिकामा १६, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा ७÷७, मायादेवी गाउँपालिकामा र कन्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा ८÷८ जना,गैडहवा गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २÷२ जना र मर्चवारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ८४६ जनाको कोरोना परीक्षण गर्दा ५४ प्रतिशत भन्दा बढी अर्थात ४५९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै रुपन्देहीमा बितेको २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ । साथै जिल्लामा हाल २ हजार ९३० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ९ हजार ३ सय ९६ जना संक्रमित निको भएका छन ।
समग्रमा ७६ प्रतिशत निको भएका, २३ प्रतिशत सक्रिय संक्रमित छन भने एक प्रतिशत संक्रमितको मात्र मृत्यु भएको छ । पछिल्लो एक साता देखि रुपन्देहीको संक्रमित रेकर्ड दैनिक ब्रेक हुदै गएको छ । गत विहीबार ६८ जनामा संक्रमण रहेकोमा करिब ७ गुणले आज संक्रमित थपिएका छन ।