भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २३ वर्ष पछि हत्यारालाई पक्राउ गरेको छ ।
२०५६ सालमा हत्यामा संलग्न कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो ।
३७ वर्षिय यूवराज ढकाल भन्ने भुवन ढकालले २०५६ सालमा हत्या गरेपनि जिल्ला अदालत रुपन्देहीले २०६४ सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाएको फैसला गरेको थियो । अपराध गरसँगै फरार भएका ढकाललाई रुपन्देहीको इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले रुपन्देहीको कंचन गापा २ हात्तिबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
अपराध गरेर विभिन्न स्थानमा लुकुछिपी बस्दै आएका अन्ततः उनी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विगतमा बस्दै आएको रुपन्देहीको साविक गजेडी ९ लौसाबाट बसाई सराई गरी चितवनको साविक गितानगर ७ बाट ढकालले नागरिकता बनाएका छन् । गत माघ महिना देखि रुपन्देहीको कंचन गापा २ हात्तिबजारमा कुखुरा फर्म संचालन गरी बस्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो । फरार अपराधी सम्बन्धित स्थानमा रहेको सूचना प्राप्तपछि उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुपन्देही पठाइएको रुपन्देहीका डिएसपी एवं प्रवक्ता थापाले बताए ।
अदालतबाट सजाए पाएका र अपराधिक घटना घटाएर फरार रहेका आरोपीलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकतामा साथ कार्य अगाडी बढाएको छ । जसका लागि प्रहरीको ‘क्याप टोली’ लाई सक्रिय बनाइनुका साथै सबै इलाका र चौकीका इन्चार्जलाई खोजीमा खटाइएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न रुपन्देही प्रहरी लागेको छ ।