दाङ। तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेडको कारमा मृत अवस्थामा फेला परेको तीनजना बालकाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत फेला परेका बालकहरु तुलसीपुर–६ बरुवागाउँका भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बैशाख १६ गते कार्यालयमा दुईजना बालक हराएको भन्ने निवेदन परेको थियो। ‘१६ गते हामीकहाँ २ जना बालक हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भन्नुभयो , ‘अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे। घटनाबारे थप अनुसान्धान भइरहेको छ।’
मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ। तीनजना बालक एउटै कारभित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको विशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ। पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र शनिवार साँझ तीनजना बालक मृत फेला परेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ।
घटना अनुसन्धानका क्रममा शंकास्पद एक जनालाई पक्राउ गरेको छ। गाडी कसको हो भनेर पत्ता लगाउन सकिएको छैन। प्रहरीका अनुसार यसबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार शनिबार साँझ एउटा बस पार्किङका लागि त्यो कारनजिकै जाँदा चालक र सहचालकलाई निकै गन्ध आएको थियो। त्यसपछि वरिपरि हेर्दा केही नदेखिएको र बत्ती बालेर हेर्दा कारमा शव भेटिएको थियो ।
दाङमा तीन बालकको शव रहेको कारका मालिकको पहिचान खुलेकाे छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार भारतीय नम्बर प्लेटको उक्त गाडि तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेको हो। ‘गाडी मालिकको पहिचान भएको छ तर, घटनामा उनको संलग्ना छ छैन भन्नेबारे अनुसन्धान थालिरहेका छौं,’ उनले भने, ‘अब हामी चाँडै अपराधी नजिक पुग्ने छौं।’