भैरहवा । रुपन्देही काठमाण्डौ पछिको कोभिड हटस्पट बनेको छ । बढ्दो कोरोना भाइरसको संक्रमण दोस्रो लहरले उपत्यका बाहिर सबैभन्दा धेरै प्रभावित रुपन्देही जिल्ला भएको छ । उपत्याका बाहिर सबै भन्दा बढि सक्रिय संक्रमित र संक्रमणबाट मृत्यु हुने जिल्ला बाँके रहेपनि पछिललो समय रुपन्देहीमा बढेको संक्रमणले बाकेलाई रुपन्देहीले उछिनेको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले शुक्रबार विहान दिएको तथ्याङक अनुसार रुपन्देहीमा ५ हजार ५ सय ४९ जना सक्रिय संक्रमित छन् भने २४२ जना संक्रमितको मृत्यु भएको छ, यस अघि हटस्पट बनेको बाँकेमा भने ४ हजार २ सय ७५ जना सक्रिय संक्रमित र १५४ जना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीका सक्रिय संक्रमितमध्ये ५ हजार १ सय २३ जना संक्रमित घरमै छन् भने ४ सय २६ जना विभिन्न कोभिड अस्पताल तथा निजी अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जानकारी दिएको छ ।
सक्रिय संक्रमितहरु घरमै रहेकाले समूदायमा संक्रमण झनै बढेर जाने जोखिम बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्दोर निरिक्षक केदार शाहले बताए । अस्पतालमा बेड र अक्सिजनको अभाव भएपछि लक्षण देखिएका संक्रमितहरु समेत घर बस्नुपरेकाले कोभिडबाट ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने जोखिम बढेको छ । रुपन्देहीमा हालसम्म दुई सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यो संख्या बाँकेको भन्दा ८८ ले धेरै हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठकले अस्पतालमा बेड र अक्सिजनको अभावका बीच संक्रमितहरुको संख्या ह्वात्तै बढ्नु निकै चिन्ताको विषय भएको बताउँछन् । ‘अस्पतालको क्षमताले थेग्न नसक्ने गरी संक्रमितहरुको चाप बढेको छ । अक्सिजन र बेड नहुँदा नयाँ बिरामी भर्ना गर्न निकै सकस भएको छ,’ उनी बताउँछन् ।
भारतसँग जोडिएका दुई जिल्ला बाँके र रुपन्देही कोरोना संक्रमणको दोस्रो लहरमा उपत्यकाभन्दा बाहिर सबैभन्दा धेरै प्रभावित भनेका जिल्लाहरु हुन् ।

यता हप्तादिन देखि निषेधाज्ञा गर्दा समेत रुपन्देहीमा संक्रमित थपिने दर र मृत्यु दरमा कमी नआएपछि रुपन्देहीमा जारी निषेधाज्ञालाई अझै कडा पारिएको छ । भैरहवामा हिजो बसेको डीसीसीएमसी रुपन्देहीको बैठकले निषेधाज्ञालाई अझै कडा बनाउने निर्णय गरेको हो । आजै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको थप कडाई सम्बन्धी सुचनामा निर्माण लगायतका गैर खाद्य उद्योगहरु पूर्णरुपमा बन्द गर्ने, बैंक बित्तीय संस्थामा एक जना प्राविधिक मात्र राखेर अन्य काम बन्द गर्ने तथा तरकारीजन्य सामग्रीहरु स्थानीय तहको समन्वयमा कृषि एम्बुलेन्स मार्फत बिक्रिवितरण गर्ने जस्ता आदेशहरु उल्लेख गरिएको छ ।