भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा ‘फूड बैंक’ को स्थापना गरेकाे छ । सामाजिक क्षेत्रमा क्रियाशिल सस्था राेटरीले रूपन्देहीमा जारी निषेधाज्ञाबाट प्रभावित विपन्न परिवारका लागि फूड बैंक स्थापना गरी संचालनमा ल्याएकाे हाे ।
क्लबले भैरहवास्थित प्रहरी टोलमा सोमबारदेखि ‘फूड बैंक’ सञ्चालनमा ल्याएको छ । विशेष गरी दैनिक ज्यालादारी गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवार तथा मजदूरलाई फूड बैंकमार्फत खाद्यान्न सामग्री निःशुल्क उपलब्ध गराउनका लागि उक्त बैक खाेलिएकाे संस्थापक अध्यक्ष विमल सेञ्चुरीले बताए । ‘कम्तीमा १० दिन पुग्ने खाद्यान्न सामग्री क्लबले फूड बैंकमार्फत निःशुल्क उपलब्ध गराउनेछ, ’सेञ्चुरीले भने । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएकोले महामारीको बेला पनि विपन्न परिवारलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले यो कामको सुरुवात गरिएको उनको भनाइ छ । क्लबले चामल, दाल, तेल, सोयाबीन, नुन र चिउरा उपलब्ध गराउने उनले जानकारी दिए । 
‘उद्योग, कलकारखान, विकास निर्माण सबै ठप्प छन्, ज्यालादारी गरेर खाने तल्लो वर्गलाई दैनिकी चलाउन हम्मेहम्मे परेको छ । मानवीय नाताले हामीले अग्रसरता दिनुपर्छ भनेर क्लबमार्फत् खाद्यान्न वितरण सुरु गरेका छौं’, पहिलो दिन १२ परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराइएकोे क्लबका वर्ष २०२०/०२१ का अध्यक्ष हिरा बहादुर शाहले बताए ।
क्लबले फूड बैंकमा आएर खाद्यान्न लैजान नसक्ने परिवारका लागि घरघरमै पुगेर सहयोग उपलब्ध गराउने क्लबका सदस्य धर्मवीर शर्माले बताए । उक्त कार्यका लागि क्लबले कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारी र सदस्य धर्मवीर शर्मालाई जिम्मेवारी दिएको छ । फूड बैंकमा खाद्यान्न सामग्री स्वतस्र्फूत रुपमा जो कोहीले पनि सहयोग गर्न सक्ने शर्माले बताए ।
सोमबार फूड बैंकको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले सामाजिक क्षेत्रमा रोटरी क्लबहरुले पुर्याएको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले महामारीको समयमा क्लबले रचनात्मक कार्य गरेको बताए ।