भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेकाे छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बुधबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले थप निषेधाज्ञालाई जेठ १३ गते विहान ६ बजेसम्म लागू हुने गरी निरन्तरता दिएका हुन्।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको छ। लकडाउनको समयमा अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ। शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।