Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बन्द छन मस्जिद र इदगाह , घर घरमा इद मनाइदै  


  • लुम्बिनी चिन्तन
  • बैशाख ३१, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

बन्द छन मस्जिद र इदगाह , घर घरमा इद मनाइदै  

भैरहवा । आज मुस्लिमहरुको महान पर्व इद मुस्लिम धर्मावलम्बीहरुले घरैमा रहेर मनाइरहेका छन । इद र वकरीदका लागि बनाइएका इदगाह आजको पनि पनि गत वर्ष झै सुनसान रह्रयो । ईदगाह वर्षको दुई पटक मुस्लिम समुदायले नमाज पढ्ने विशेष ठाउँ हो । हजारौ मुस्लिम समुदाय एकत्रित भई नमाज पढ्ने यो ठाँउ अहिले कोरोना महामारीले सुनसान भएको छ ।

जोखिमलाई मध्यनजर गर्दै ईद घरैमा नमाज पढेर मनाइएको छ । हर्षोल्लासका साथ मनाइने ईद पर्व ईदगाहमा गएर सामुहिक रुपमा पढ्ने गरे पनि गत वर्ष झै यस  पटक सुनसान रुपमा मनाइयो । यस वर्ष कोरोनाको कहर तथा निषेधज्ञाले गर्दा कठिन परिस्थितिमा भैरहवाको बसडिलवा, पिपरहियामा रहेको ईदगाहमा कोही पनि देखिएनन भने अन्य मस्जिदमा मौलानाहरुले पनि नियमित नमाज अदा गरेर मनाए । रुपन्देहीमा २ दर्जन बढि ईदगाह र मस्जिद छन, अधिकांस मस्जिदको ढोका बन्द छ ।

प्रर्थनाका लागि सधै खुल्ला हुने मस्जिदका ढोका कोरोनाका कारण इदमा मात्र होइन, नियमित साप्ताहिक नमाजमा पनि बन्द नै छ । इदको नमाज कही कही ४–५ जनाको समूहमा सामाजिक दुरी कायम गरी पढे पनि अन्य मस्जिदहरु सुनसान नै रह्यो ।  मदरसा कठौतिया समितिका कोषाध्यक्ष मुसाफिर अलिका अनुसार यस वर्षको इदको नमाज इदगाहमा भएन, गत वर्ष पनि जोखिमका कारण नमाज स्थगित गरेका थियौ, यस वर्षपनि कोरोनाको दोस्रो लहरका कारण घरघरमै पढ्न अनुरोध गरेका थियौ । सोही अनुरुप मुस्लिम समुदायले ईदको नमाज घरैमा पढेको अलिले बताए ।

४ दशक बढि देखि वर्षेनी बसडिलवा इदगाहमा नमाज हुदै आएको थियो, यो वर्ष पनि गत वर्ष झै नमाज गर्न सकिएन । यस्तो विसम परिस्थितिमा नेपाल सरकारको निर्देशनमा रहेर ईद मनाइएको छ । लकडाउनको पालना गर्दै नियमित नमाज पढ्नेले आफ्नो तरिकाले मस्जिद मस्जिदमा नमाज पढेर घर घरमै इद मनाएको उनले भने । 

आजकै दिन मुस्लिम समूदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएको दिन ईद हो । बिहीबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज इद मनाइको छ । एक महिनाको रोजा पूरा गरिसकेपछि आज इदुलफित्र अर्थात इद मनाइन्छ । 

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (इद) भैरहवा सहित देश विदेशभरि धुमधामका साथ मनाइने गरेपनि अहिले केही रौनकता छैन । यो पर्व आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) को समापन पनि हो । ज्यान रहे ईद त फेरि पनि मनाइन्छ । यस्तो अवस्थामा समुदाय र परिवारलाई संक्रमणबाट बचाउनु ठूलो कर्तव्य हो मस्जिद रहमानियाका मौलना फैजूल्लाले भने ।

ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह  (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सो पश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाईका परिकारहरु एक अर्कालाई खुवाउने, ठूलाबडासँग आशीर्वाद लिने र साथीभाइसँग जमघट भई मिलनको पनि पर्व हो । तर अहिले मास्क लगाई मुस्लिम समुदाय आफै पकाएर आफै खाने गरेका छन, पाहुना तथा छरछिमेक पनि अतिथी बनेर अरुको घर गएका छैनन  ।

विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो  । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । रमजान महिना मुस्लिम समूदायको लागि महत्वप्ुर्ण महिना हो यस महिनाको सुरुवातबाट नै स्वर्गका ढोकाहरु खोलिन्छ र नर्कका ढोका बन्द हुने धार्मिक विश्वास छ । रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुस्लिमले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन् । 


लुम्बिनी चिन्तन

थप समाचार