बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार टेण्डर आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ । एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको छ।
दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।
सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक ई. शिवप्रसाद नेपालले जानकारी दिए ।
सडक विभागका प्रवक्ता समेत रहेका नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए । सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ ।

सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ । सोही अनुसार नै टेण्डर आह्वान गरिएको सडक विभागका प्रवक्ता नेपालले जानकारी दिए । सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्यारो पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएको वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।
सुरुङमार्गको लागि रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आएका थिए । उनले अर्थमन्त्री भएपश्चात् रुपन्देही आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाएका थिए।
अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सुरु गरेर समयमै काम सुरु हुने बताएका छन्। उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुने समेत जानकारी दिए। सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने पौडेलको भनाइ छ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै मृत्यु हुुने गरेको छ ।