भैरहवा । रुपन्देहीमा आइतबार २४९ जना संक्रमित थपिएका छन । जिल्लाको विभिन्न ल्याबमा गरिएको ५ सय ८० परिक्षणबाट १०९ महिला र १४० पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पताल र होम आइशोलशेनबाट ८ सय ८८ जनाले कोरोना जितेका छन । हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा पछिल्लो एक साता देखि संक्रमित निको हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
कार्यालयका कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमा नगरपालिकामा ६६ जनामा संक्रमण देखिएको छ । अहिले सम्म बुटवल उपमहानगर पालिकामा बढि संक्रमण देखिएको भए पनि आज तिलोत्तमामा बढि संक्रमण देखिएको हो । त्यस्तै बुटवलमा ५५ जना, सिद्धार्थनगरमा १४ जना, सैनामैनामा ३४ जना, देवदहमा १९ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २, कंचनमा १७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यसैगरि ओमसतियामा १०, रोहिणीमा ४ जना, सियारीमा ३ जना, ५, सुद्धोधनमा १६ जना, मायादेवीमा ७, कोटहीमाई र मर्चवारीमा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको सम्मरीमाई र गैडहवामा भने आज संक्रमित थपिएका छैनन ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना संक्रमितसँगै हाल सम्म कुल ३९५ जनाको मृत्यु भएको छ । कार्यालयका अनुसार हाल सम्म २५ हजार ९७ जना संक्रमित जिल्लाभरि देखिएकोमा २० हजार १ सय ५४ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ४ हजार ५ सय ३८ जना मध्ये ३०० जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ४ हजार २ सय ३८ जना होम आइशोलशनमा रहेका छन ।