भैरहवा । उत्कृष्ट कार्य गर्ने रुपन्देहीका तीन प्रहरी युनिट इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयले सम्मान सहित पुरस्कृत गरेको छ ।
स्वच्छता र इमान्दारिता कार्यान्वयन गराउनका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखको योजना अनुसार बेष्ट इन्टीग्रिटी इन्चार्जबाट उनीहरुलाई सम्मान गरिएको हो ।
म प्रमुखको रुपमा आए पछि उदघोस गरे बमोजिम नै जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मान गरेको हो । इन्चार्ज प्रहरीको आचारण, भष्ट्राचारमा संलग्नता , मातहतमा भ्रष्टाचार नियन्त्रणको भुमिका, इन्चार्जको मातहत भएको कामको जानकारी वा सूचनाको अपडेट लगायत ९ वटा सुचकांकको आधारमा सबै भन्दा बढि अंक पाउनेलाई योे सम्मान अवार्ड प्रदान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज केजीले भने ।
हरेक महिना निरन्तर पुरस्कृत र सम्मान गर्ने योजना छ । बैशाख महिनामा उच्च इन्टीग्रिटी अंक पाएका इलाका प्रहरी कार्यालय मध्ये ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र महत र प्रहरी चौकीहरुबाट प्रहरी चौकी शिवपुर गोनाहा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक जितेन्द्र राय यादव एवं प्रहरी चौकी शान्तिबजार सुर्यपुरा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादवलाई पुरस्कृत गरिएको एसपी केसीले भने ।

पुरस्कृत इन्चार्जहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च उच्च इन्टीग्रिटी अंक प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गरी उच्च नैतिक आचरणमा रहेर उल्लेखनीय भूमिका निर्वाह गरेकोले सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी अधिकृतहरुलाई अवार्ड प्रदान गरीएको छ । पुरस्कृत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरि कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले पुरस्कार प्रदान गरेका थिए ।
जिल्लामा १३ वटा प्रहरी निरिक्षक र प्रहरी नायब उपरिक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय र सई असईको कमाण्डमा रहेको ४६ वटा प्रहरी चौकी रहेको छ । इप्रका मध्येबाट प्रत्येक महिना एक जना र चौकी युनिटबाट २ जनालाई उत्कृष्ट इन्चार्जबाट सम्मान गरिने छ । यसरी यो अवार्डबाट जो बञ्चित हुन्छ त्यसलाई निगरानीमा राखी उसको कार्यदक्षता अनुसार अन्यत्र लगाउने एसपी केसीले बताए ।
प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाल्दा समेत प्रत्येक महिना पुलिस अफ द मन्थ बाट नगद सहित पुरस्कृत गर्ने सुरुवात गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भनेर पुरस्कृतले प्रोत्साहन मिल्नुका साथै एवार्ड पाएका प्रहरीलाई बढुवा र पदोन्नतीमा सहयोग समेत हुने छ ।