कपिलवस्तु । बुधवार गाेली लागेका माओवादी नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ । गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य पाण्डेको मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि हेलिकप्टर मार्फत काठमाडौं पुराईए पनि उपचारकाे क्रममा सोमबार राति ९ बजे निधन भएको हाे ।
पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा केही दिन उपचार गरिएको थियो ।
तर, अवस्था गम्भीर भएपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् । पाण्डे र ती भारतीय नागरिकमाथि गोली प्रहार गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
पाण्डेकाे जसपा लुम्विनी प्रदेश संसदिय दलका नेता सहसराम यादवका स्वकिय सचिव ओम प्रकाश यादवले गाेली हानेका थिए । गाेली प्रहारमा संलग्न २ जनालाई नै प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।
अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तहरुले व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको बयान दिएको डीएसपी भण्डारीले बताए । अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।