भैरहवा । रुपन्देहीमा पछिल्लो दश दिन देखि निरन्तर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । बैशाखको ३० गते सबै भन्दा बढि संक्रमित थपिएको रेकर्ड बनाएको रुपन्देहीमा भने जेठ महिनाको सुरुवातसँगै संक्रमण दरमा निकै सुधार आएको छ । दोस्रो लहरमा कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देही पछिल्लो एक सातायता संक्रमण दर कम हुँदै गएको छ । वैशाख १६ गते देखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेनब्रेक हुँदै गएकोले पनि संक्रमण दर घटदै गएको छ ।
दोस्रो लहर सुरुवातसँगै संक्रमण दर र मृतकको संख्या पनि बढ्दै गएपनि अहिले केही नियन्त्रणमा छ । केही नियन्त्रित भएपनि निषेधाज्ञालाई तत्कालै खुकुलो बनाउन नहुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । लक्षण देखिनेको मात्र परिक्षण गर्ने सरकारको निति रहेकोले परिक्षणको दायरा अहिले केही घटेको छ, ठाँउ ठाँउमा अनियमित रुपमा (रेन्डम्ली) परिक्षण गर्न, खोप यथासिघ्र लगाउन, सुरक्षा मापदण्ड पालना गरी सतर्कता अपनाउन भने जरुरी रहेको प्रमुख गिरीले बताए ।
रुपन्देहीमा जेठ १ गते ४८६ जना संक्रमण थपिए पनि दिनानुदिन यो सख्ंया घटेर १० गते २०४ मा झरेको छ । यस्तै सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ दश दिन अघि ७ हजार एक सय एक जना संक्रमित रहेकोमा घटेर ४ हजार २ सय ५७ पुगेको छ ।
स्वास्थ्य कार्यालयका जेठ १ गते देखि जेठ १० गतेसम्म ८ हजार ७ सय ८२ को परीक्षण गर्दा ३ हजार २ सय ११ जनामा अर्थात ३६दशमलव ५६ प्रतिशतमा मात्र संक्रमण भेटिएको हो । आज मंगलबार मात्रै जिल्लारभमा ७६५ स्वाब नमूना परीक्षण गर्दा २३५ जनामा अर्थात् ३० प्रतिशतमा मात्रै संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए । शाहका अनुसार सबै भन्दा बढि तिलोत्तमामा ६४ जनामा संक्रमण देखिएको भने आज जिल्लाभर एक जनाकोमात्र मृत्यु भएको छ ।
निषेधाज्ञा लगाइएको ४ साता हुन लाग्यो, निषेधाज्ञाले संक्रमणको चेन ब्रेकमा काम गरेकोले संक्रमण दर कम हुँदै गएको छ । केही समय अझै निषेधाज्ञालाइ निरन्तरता दिनु पर्ने डाक्टर गिरीको भनाई छ । संक्रमण दरमा सुधार भएपनि कोरोना अस्पतालमा उपचाररत संक्रमितहरुको मृत्युको संख्यामा भने स्थिरता आएको छैन । रुपन्देहीमा हाल सम्म ३ सय ९६ संक्रमितको मृत्यु भएको छ भने पछिल्लो दश दिनमा मात्रै ५१ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार दोस्रो लहरबाट रुपन्देहीमा २४० जनाले ज्यान गुमाएका छन भने १० हजार ९ सय ९२ जना संक्रमणबाट निको भएका छन । हाल सम्म ३ हजार ६ सय ९९ जना सक्रिय संक्रमित छन भने जस्मध्ये २०७ जना विभिन्न अस्पतालमा, २४ जना आइसियुमा ७ जना भेन्टिलेटरमा र ३ हजार ३ सय ९४ जना होम आइशोलेशनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनक थापाले बताए ।