भैरहवा । वर्षौ देखि भव्यताका साथ मनाइदै आएको बुद्धजयन्ती आज परित्राण पाठ गरि मनाइदै छ । कोरोना महामारीले जमघट र भिडभाड हुन नसक्ने अवस्था रहेकोले लुम्बिनी विकास कोषले विभिन्न गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी मायादेवी मन्दिर परिसरमा परित्राण पाठ गरि मनाएको हो ।
आज २५६५ औ बुद्धजयन्तीको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मन्दिर पुगेर पुजापाठ गरेका छन, त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देशमार्फत शुभकामना सन्देश प्रसारण भएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको शुभकामना सन्देश पनि मन्दिर परिसरमा वाचन गरिएको छ । यस्तै साँझ कोरोना निवारण र संक्रमितको स्वास्थ्यलाभको कामनासहित २५६५ वटा दीप प्रज्वलन गरिने, भिक्षु भिक्षुणी, लामा गुरुमालाई संघ दान र मायादेवी मन्दिरमा ३ दिनसम्म बत्ती बालेर दीपावली गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए ।
त्यस्तै बुद्ध जयन्तीकै अवसरमा आजदेखि २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम छ, लुम्बिनीलाई फलफूलको बगैँचा बनाउने उद्देश्यले फलफूल रोपण अभियान सुरु गरेका छौ । बुद्धको जीवनीसँग सम्बन्धित फलफुलका विरुवाहरु रोपिने भिक्षु मेतैयाले बताए ।
राष्ट्रप्रमुख, उच्च पदस्थ व्यक्तित्व, विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना संक्रमणको कारण यस बर्ष पनि औपचारिक कार्यक्रम नभई पुजापाठमा सीमित भएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोरोना महामारी र बन्दाबन्दीको कारण गत वर्ष पनि पूजापाठमा मात्र सीमित थियो । कोरोनाबाट घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।
सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाकै दिन भएको थियो । बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पुर्णिमा नै रहेकोले यस दिनलाई नेपाल लगायत बौद्ध राष्टहरु भुटान, थाईल्याण्ड, म्यानमार लगायतले विशेष राजकीय सम्मानका साथ मनाउने गर्छन । नेपालमा भने वि.संं २००८ देखि बुद्धजयन्तीको दिन सार्वजनिक विदा दिन थालिएको हो ।