भैरहवा । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्मको लागि थप भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेकोले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जेठ २० गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए। कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा लगाइएको थियो । सुरुमा बैशाख ३० गतेसम्म निषेधाज्ञा लगाइएकोमा संक्रमणदरमा कमि नआएपछि जेठ १३ गतेसम्म थपिएको थियो ।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । अहिले दोस्रोपटक थप गरिएको हो । निषेधाज्ञामा पहिलेकै आदेशलाई निरन्तरतार दिइएको तर सरकारबाट पछिल्लो पटक जारी भएको अध्यादेश भने कार्यान्यन हुने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको छ। लकडाउनको समयमा अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ। शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।