भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ११५५ जनाको कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधीमा जिल्लामा १ जनाको मात्र मृत्यु भएको छ भने ४८३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यसअघि सरदर ४० प्रतिशत माथिको अनुपातमा संक्रमण पुष्टि हुने गरेकोमा यस हप्तादेखि रुपन्देहीमा संक्रमण फैलिने अनुपात घटेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, देवदह नगरपालिकामा ३७ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, रोहिणी गाउँपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ८४४ पुगेको छ । जसमध्ये २१ हजार ६३५ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ८११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९८ पुगेको छ । जिल्लामा हिजो २३५ जनामा संक्रमित थपिएका थिए भने ५०४ संक्रमणबाट मुक्त भएका थिए ।
त्यस्तै नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । गएको २४ घण्टामा देशभर ६ हजार सत सय १४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् । अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । नेपालमा अब काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या चार लाख ११ हजार ६ सय तीन पुगेकाे छ ।