काठमाण्डाै । नेपालमा आत्महत्याको प्रवृत्ति चिन्ताजनक रहे पनि कोरोना महामारी र लकडाउनपछि झन् विकराल बनेको छ ।
सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्न २०७६ चैत ११ गतेदेखि करिब ४ महिना लकडाउन घोषणा गरे पछि सो अवधिमा आत्महत्या गर्नेको संख्या पनि बढेको हो ।
नेपाल प्रहरीको तथ्याङकले लकडाउन अवधिमा नै १९ प्रतिशत आत्महत्या बढ्दो रहेको तथ्याङक सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को चैत, वैशाख, जेठ र असारमा २ हजार २ सय ६७ जनाले आत्महत्या गरेका थिए ।
सोही ४ महिनाको अवधिमा मात्र २ हजार ७ सय ७ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । यी ४ महिनालाई अघिल्लो वर्षका ४ महिनासँग तुलना गर्दा १९ प्रतिशतले आत्महत्या बढेको देखिएको छ ।
अझ अघिल्लो असार महिनाको र लकडाउन भएको असार महिनाको तथ्यांक हेर्दा त ६० प्रतिशतले आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो असारमा ६ सय जनाले आत्महत्या गरेका थिए भने लकडाउन भएको असारमा ९ सय ६४ जनाले आत्महत्या गरेका छन् ।

लकडाउन घोषणा हुनुअघि गत वर्ष फागुन महिनामा ४ सय १४ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले आत्महत्या गरेका थिए । लकडाउन भएको महिना चैतमा ४ सय ८७ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमाशंकर पञ्जियारका अनुसार यस १ महिनाको अवधिमा मात्र १७ प्रतिशतले आत्महत्याको घटनामा वृद्धि भएको छ ।
निर्देशनालयले गत वर्षकै चैत ११ गतेदेखि साउन १० गतेसम्म ४ महिनाको आत्महत्याका घटनाको पनि विश्लेषण गरेको छ । यस अवधिमा १ हजार ३ सय ४३ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकले आत्महत्या गरेका छन् । निर्देशनालयको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी प्रदेश १ मा १९ प्रतिशत अर्थात २ सय ६४ जनाले आत्महत्या गरेका छन् । प्रदेश २ मा २ सय ३१ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको चैतसम्ममा ५ हजार ८१ ले आत्महत्या गरे । त्यसमा झुण्डिएर ४ हजार ३८ ले तथा विष खाएर ९ सय ५७ ले गरेका छन् । मुलकभरका ७ वटै प्रदेशमध्ये सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश १ मा भएको छ । पछिल्लो आर्थिक वर्ष २०७६÷०७६ देखि चालु आर्थिक वर्ष २०७७-०७८ को चैत सम्मको ३ वर्षको अवधिमा मुलुकभरमा १६ हजार ७ सय ७१ जनाले आत्महत्या गरेका छन् ।

सबैभन्दा बढी प्रदेश १ मा २१ प्रतिशत अर्थात ३ हजार ६ सय २३ जनाले आत्महत्या गरेका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशमा १९ प्रतिशत अर्थात ३ हजार ३ सय २७ जनाले आत्महत्या गरेका छन् ।