काठमाडौं । यस वर्षको एसईई आन्तरिक मुल्यांकनबाट हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मुल्यांकनबाटै गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले एसईई आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईई वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको हो ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।
अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। यस वर्षको एसइई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन। गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए। तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोर्याएर अभ्यास गर्न त टाढाकै कुरा, कोर्स नै पूरा हुन सकेको छैन।
गत वर्ष एसइईमा आन्तरिक मूल्यांकनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो ।