काठमाण्डाै । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए।
कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । थापाकाे इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको थिएन ।
कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो ।
थापाको उपचारका लागि साथीभाइ र पार्टीका शुभेच्छुकहरुले परिवारसँग सल्लाह गरेर स्वतः स्फूर्तरुपमा रकम संकलन पनि गरेका थिए ।
थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए । पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो ।
४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।